बागलुङ, 23 अप्रेल
नेपालको पाँचौ तथा बागलुङको पहिलो कोरोना संक्रमित 19 वर्षीया युवतीको कोरोना परीक्षणको पाँचौँ रिपोर्ट नेगेटिभ आएको छ। धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बानपा 4 कुँडुलेकी 19 वर्षीया युवतीको यसअघिको चार वटा रिपोर्ट पोजेटिभ आएको थियो।
बिहीबार पोखरामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो। ‘युवतीको संक्रमण पुष्टि भएपनि सुरुदेखि नै अवस्था सामान्य थियो तर रिपोर्टमा पोजेटिभ देखिएको थियो,’ डा.पोखरेलले भने ‘धेरै दिनपछि पाँचौ रिपोर्ट नेगेटिभ आएको छ, अब छिट्टै निको भएको सन्देश सहित डिस्चार्ज हुनेमा हामी विश्वस्त छौं।’
अब शुक्रबार पुनः स्वाब पठाइने र उक्त रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिनेछ। संक्रमित युवतीले पनि टेलिफोन सम्पर्कमा कुराकानी गर्दै पाँचौ रिपोर्ट नेगेटिभ आएपछि आफू निकै उत्साहित भएको र कोरोनालाई जितेर छिट्टै घर फर्कने दृढता व्यक्त गरिन्।









































