दार्चुला, 29 अप्रेल/ हिम शाह
गत एक महिनादेखि भारतका विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरूको नेपाल भित्रिने क्रम रोकिएको छैन्। बुधबार बिहान महाकाली नगरपालिका-9 उडै क्षेत्रबाट महाकालीको जङार तरेर 16 जना नेपाल प्रवेश गरेका छन्। लकडाउनका कारण सिमानाका बन्द भएपछि उनिहरु कहिले पौडी खेलेर, कहिले ट्युबको मद्दतले त कहिले जङार तरेर नेपाल भित्रिरहेका छन्।
बुधबार दार्चुला र बैतडीका 16 जना प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो।
दार्चुलाको शैल्यशिखर नगरपालिका 1 जना, बैतडीको डिलाशैनी गाउँपालिकाका 14 जना र पुर्चौडी नगरपालिकाका 1 जनाले नेपाल प्रवेश गरेको उहाले बताउनुभयो। उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र मा.वि. खलंगाको क्वारेन्टिनमा राखेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो।
सीमापारी रहेका नेपाली मजदुरहरुले 1 महिना भारतीय क्वारेन्टिनमा बस्दा समेत स्वदेश फर्कन नपाएपछि जोखिम मोलेरै भएपनि महाकाली तरेर नेपाल आउन थालेका हुन्। सीमामा रहेका नेपालीहरुलाई फर्काउनका लागि स्थानीय स्तरमा क्वारेन्टिन निर्माणको काम सकिए पनि स्वदेश ल्याउने विषयमा संघीय सरकारको निर्णय आवश्यक पर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले बताउनुभयो। सीमामा रहेका नेपाली मजदुरहरुलाई स्वदेश ल्याउन केन्द्रको निर्णय पर्खिरहेको उहाँले बताउनुभयो। भारतको झुलाघाट र धारचुलामा गरेर बैतडीका मात्रै 9 सय मजदुर भारतीय क्वारेन्टिनमा बसिरहेका छन्।









































