नयाँ दिल्ली डेस्क, 30 अप्रेल
बलिउड अभिनेता ऋषि कपुरको 67 वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। 2 वर्षदेखि क्यान्सरसँग जुधिरहेका ऋषिको मुम्बइस्थित सर एच.एन. रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान निधन भएको हो।
बलिउड अभिनेत्री नितु कपुर उनकी पत्नी हुन् भने अभिनेता रणविर कपुर उनका छोरा। ऋषिका भाइ बलिउड अभिनेता रणधिर कपुरले उनको निधनको खबर सार्वजनिक गरेका हुन्। ऋषिको निधनप्रति बलिउडका थुप्रै कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत ऋषिको निधन भएको र यस खबरबाट आफू विक्षिप्त भएको प्रतिक्रिया दिएका छन्। यस्तै अक्षय कुमारले इरफानको निधन लगत्तै ऋषिको निधन भएकोमा बलिउडमा दुस्वप्न भएको बताएका छन्।
अघिल्लो दिन बुधबार मात्रै बलिउडका अर्का कलाकार इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो। ऋषि पछिल्लो समय अभिनयमा सक्रिय थिएनन्।









































