काठमाण्डौँ, 15 मई 2020
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सीमानामा अलपत्र नेपालीहरूलाई तत्काल स्वदेश भित्र्याउन माग गरेको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सीमामा अलपत्र परेका नेपालीहरूलाई नेपाल प्रवेश गराउन माग गर्नुभएको हो।
“भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त भएको छ, भने कैयौँ नाकामा नेपालीहरू अलपत्र छन्”, विज्ञप्तिमा उल्लेख छ।

‘नेपाली कैयौँ दिनदेखि भारतसँगको विभिन्न सिमानाकामा अलपत्र स्थितिमा छन्, पछिल्लो चौबीस घण्टामा थप हजारौँ नेपाली सिमा क्षेत्रमा आइपुगेको विवरण नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा प्राप्त भएको उहाँले विज्ञप्तिमार्फत् भन्नुभएको छ।
जोखिम रहित ढङ्गले प्रवेश गराउन सरकारले तत्काल गम्भीरता साथ पहल नगरे खाने र बस्ने कठिनाइमा हजारौँ नेपाली दशगजा क्षेत्रमा थप प्रताडित हुने प्रवक्ता शर्माले उल्लेख गर्नुभएको छ।
लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्ने भएकाले नाकामा आइपुगेका सबै नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। ‘साथै उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पुऱ्याउने प्रवन्ध गर्न नेपाली काँग्रेस सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।









































