नयाँ दिल्ली, 16 जुन 2020
नेपाली जनसम्पर्क समिति भारतले कोभिड-19 को महामारीका बेला नेपाल र विश्वभर रहेका नेपालीहरुका लागि काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गरेको छ । दिल्लीस्थित नेपाली दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली जनसम्पर्क समितिले कोभिड-19 का कारण उत्पन्न परिस्थितिसँग लड्न सरकार असफल भएको ठहर गरेको छ । नेपाल सरकारले समयमै कोरोनाबाट उत्पन्न परिस्थितिमा गम्भीरता नदेखाउँदा वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको भनेको छ । भारत सरकार तयार हुँदा पनि नेपाल सरकारले भारतका सरकारी बस रेलसँग आधिकारिक पहल नगरेका कारण लाखौं नेपालीहरुलाई करोडौं रुपैयाको नोक्सान भएको नेजसले भनेको छ । सरकार गैर जिम्मेवारी र असक्षम भएको ठहर गर्दै नेपाली जनसम्पर्क समितिले विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकको निशुल्क रुपमा उद्धार गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।

ज्ञापनमा सरकारले गर्न नसकेका कामको टिप्पणी गर्दै नेजसले नेपालमा परिक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ्य सामग्री नहुनु र क्वारेन्टाइनहरु नाम मात्रको हुनु, क्वारेन्टाइनमै नागरिकको मृत्यु हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न सरकारले नसक्नु, मृत्यु पश्चात् कोरोना पोजिटिभ भनेर रिपोर्ट आउनु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार लगायत अग्र पंक्तिमा काम गर्नेहरुको उच्च मनोबल बढाउनुको सट्टा निराशामा पार्नु विदेशमा रहेका आफ्ना नागरिकहरुलाई उद्दार गर्न ढिलासुस्ती गर्नु, क्वारेन्टाइनमा महिलामाथि सामुहिक बलात्कार हुनु, भारतबाट नेपाल जान चाहने नेपालीको व्यवस्थापन राम्रोसँग नहुनुले सरकार विफल भएको नेजसको भनाइ छ । नेजसको तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेको गएको टोलीले मिशन उप प्रमुख भरतकुमार रेग्मीलाई ज्ञापन बुझाएको थियो ।









































