काठमाण्डौ, 20 जुन 2020
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण दक्षिण कोरियामा समस्यामा परेका 2 सय २८ जना नेपाली कामदार आज शनिबार स्वदेश फर्किएका छन्। कोरिएन एअरको विमानबाट उनीहरु बिहान नेपाल आइपुगेका छन । कोरियास्थित नेपाली दूतावासका अनुसार समस्यामा परेका 972 जना नेपालीहरु नेपाल फर्कन चाहन्छन । सरकारले विदेशमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न देशमा फसेका नेपालीहरु फिर्ता आइरहेका छन । पछिल्लो समय खाडीका विभिन्न देशहरुबाट नेपालीहरु भित्रिसकेका छन । आज कोरियाबाट आएको विमानबाट लकडाउनका कारण नेपालमा रोकिएका 2 सय ३३ जना नेपाली कामदारहरु कोरिया गएका छन्। कोरियाको आग्रहमा सरकारले एक हप्ताअघि नेपालमा रोकिएका कामदार कोरिया पठाउने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात नेपालीहरु कोरिया जान थालेका छन्। गैरआवासी नेपाली संघका अनुसार बिदामा आएका बेला कोरोनाका कारण रोकिएका कामदार लैजाने क्रममा उता समस्यामा परेका नेपाली पनि आउन थालेका हुन्। केही समयअघि संघले नेपाल वायुसेवा निगममार्फत नेपालमा रोकिएका कामदार लैजाने अनुमति मागेपनि अनुमति नपाएपछि कामदार कोरिया जान पाएका थिएनन्। नेपालबाट कोरिया फर्किने नेपालीहरुको संख्या 1 हजार 3 सय रहेको गैरआवासीय संघले जनाएको थियो। यसअघि ५५ जना नेपाली कोरिया गइसकेका छन्।









































