काठमाडौं 24 जुलाई 2020
सोती लगायतका देशभर भएका जातीय घटना र विभेद विरुद्ध शुक्रबार प्रदर्शन गरिएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको हो। रुकुम पश्चिमको सोतीमा भएको घटना लगायत देशभरी भएका जातीय हत्या र विभेद विरुद्ध शुक्रबार माइतीघर देखि बानेश्वर सम्म विरोध ऱ्याली समेत निकालिएको थियो। गत जेठ १० गते भएका रुकुम घटनाका दोषि, गत जेठ २७ गते प्रहरी हिरासतभित्र मृत भेटिएका शम्भु सदाको घटना लगायत देशभरी घटेका जातीय विभेदका घटना विरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले ‘विभेदकारी सरकार खवरदार’, ‘सोती घटनाका दोषिलाई कारवाही गर’, ‘मान्छे मार्न पाइदैन’, ‘पीडितलाई न्याय दे’, ‘हत्या, हिंसा र बलात्कार बन्द गर’ लगायतका नारा लगाएका थिए। प्रदर्शनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका नेता मिन बहादुर विश्वकर्मा लगायतका विभिन्न पार्टीका नेताहरुको पनि सहभागिता रहेको थियो।









































