नयाँ दिल्ली, 30 जुलाई 2020
प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्या अभिव्यक्तिसँगै नेपाल-भारतबिच विवाद थप बढेका बेला आज भारतको राजधानी नयाँ दिल्लीमा दुवै देशका युवा-विद्यार्थीहरुले मिलेर मित्रतामा कुनै असर नपरेको सन्देश दिएका छन । अन्तर्राष्ट्रीय मैत्री दिवसको अवसरमा बिहीवार दिल्ली विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थी र भारतीय विद्यार्थीहरुले मित्रताको प्रतिक स्वरुप वृक्षारोपण गरेका छन ।
भारतको राजधानी दिल्लीमा गरिएको यो कार्यक्रमले फेरि एक पटक के देखाएको छ भने, राजनीतिक र कुटनीतिक रुपमा जस्तोसुकै विवाद भएपनि त्यसले 2 देशको मित्रतामा खाशै फरक पार्दैन ।

नेपाली विद्यार्थी एसोसिएशन दिल्ली विश्वविद्यालय NSADU र छात्र संघ दिल्ली विश्वविद्यालय DUSU को संयुक्त पहलमा दिल्ली विश्वविद्यालयको आर्टस् फेकल्टी (कला संकाय) को प्राङ्गणमा नेपाल-भारत मित्रताको प्रतिकका रुपमा वृक्षारोपण गरिएको हो । नेपाल-भारतका युवाहरुबिचको सम्बन्धलाई सुदृढ गर्ने र मित्रतालाई थप प्रोत्साहन गर्ने पहल स्वरुप कार्यक्रम गरिएको नेपाली विद्यार्थी एसोसिएशन दिल्ली विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको प्राङ्गणमा आउने जुनसुकै देशका विद्यार्थीहरुले पनि नेपाल-भारत मैत्री वृक्ष देखेर दुवै देशको मित्रतालाई बुझ्ने कार्यक्रममा सहभागी नेपाल भारतका विद्यार्थीहरुको भनाई रहेको थियो ।

समारोहमा दुवै देशमा पवित्र मानिने “पाम र पीपल” को रूखहरू रोपिएका थिए ।

NSADU का अध्यक्ष रेशम कुमार गैरेको अध्यक्षतामा भएको कार्यक्रममा NSADU का सल्लाहकार एंव WOSY का पूर्व अन्तर्राष्ट्रिय सचिव सन्दीप राना र र दिल्ली विश्वविद्यालयका अनुसन्धान स्कोलर आनन्द श्रीवास्तव प्रमुख अतिथिका रुपमा उपस्थित रहनुभएको थियो । त्यसैगरि समारोहमा DUSU का अध्यक्ष अक्षित दहिया, उपाध्यक्ष प्रदीप तंवर, संयुक्त सचिव शिवांगी खरवाल, DUSU विदेश विभागकी अध्यक्ष प्रमिशा लुइँटेल, NSADU सल्लाहकार एंव पूर्व अध्यक्ष आनन्द मिश्रा, दिल्ली विश्वविद्यालयकी छात्रा श्रीजीति अधिकारी लगायतको उपस्थिति रहेको थियो । समारोहमा दुवै देशका युवाहरुले परापूर्वकालदेखि नेपाल-भारतबिच भौगौलिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेकाले त्यति सहजै सम्बन्ध नबिग्रने बताएका थिए ।









































