नयाँ दिल्ली, 5 अगस्त 2020
भारतमा अहिलेसम्म 32 जना नेपालीको कोभिड-19 का कारण ज्यान गएको र 265 जना भन्दा धेरै संक्रमित भएका छन । हामीलाई प्राप्त जानकारीका अनुसार सबैभन्दा धेरै संक्रमित रहेको महाराष्ट्र राज्यको मुम्बईमा सबैभन्दा धेरै नेपालीहरु संक्रमित भएका छन । मुम्बईपछि तमीलनाडु राज्य र त्यसपछि दिल्लीमा धेरै नेपालीहरु संक्रमित रहेका छन । अहिलेसम्म प्राप्त जानकारीका अनुसार मुम्बईमा मात्रै अहिलेसम्म करिब 170 भन्दा धेरै नेपालीहरु संक्रमित भएको र करिब 24 जना नेपालीले कोरोना भाईरसका कारण ज्यान गुमाउनु परेको मुम्बईस्थित संयुक्त नेपाली महासंघका पूर्वअध्यक्ष भरत रावलले बताउनु भएको छ । महाराष्ट्र भरिको तथ्याङ्क थाहा हुन नसकेपनि मुम्बईमा सम्पर्कमा आउन सकेका डेढ सयभन्दा धेरै नेपालीहरु संक्रमित भएको पत्रकार विष्णु गौतमले बताउनु भएको छ ।
त्यसैगरि तमीलनाडु राज्यको चेन्नईमा महाराष्ट्रपछि धेरै संख्यामा नेपालीहरु संक्रमित भएको थाहा हुन आएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालका अनुसार अहिलेसम्म चेन्नईमा 64 जना कोरोनाले संक्रमित भएको र त्यसमध्ये 3 जनाको मृत्यु भएको बताउनुभयो । त्यसैगरि तमीलनाडुकै कोयमबतुरमा 1 जना नेपाली संक्रमित छन । दक्षिण भारतका अन्य राज्यहरु कर्नाटकाको बेङ्गलोरमा 4 जना कोरोनाका कारण मृत्यु भएको छ भने 11 जना संक्रमित भएको उहाँले बताउनुभएको छ । त्यसैगरि केन्द्र शासित प्रदेश पुदुचेरीमा 3 जना यस भाइरसबाट संक्रमित भएको जानकारी बस्यालले दिनुभएको छ ।
राजधानी दिल्लीमा अहिलेसम्म कोरोना संक्रमित 2 जनाको मृत्यु भएको खबर छ भने 36 जना संक्रमित भएको जानकारी पाइएको छ । दिल्लीको एम्स अस्पतालका चिकित्सक सागर पौडेलका अनुसार अहिलेसम्म उहाँको सम्पर्कमा 36 जना कोरोना संक्रमित आएका छन । त्यसमध्ये उहाँकै उपचार र परामर्शले 20 जना विरामीहरु सञ्चो भइसकेका छन भने 16 जना कोरोना संक्रमितले उपचार लिइरहेका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्राय सबै होम आइसोलेशनमा रहेको डाक्टर पौडेलले बताउनुभएको छ ।
यसबाहेक सम्पर्कमा नआएका नेपालीहरु पनि ठूलो संख्यामा संक्रमित भएको हुन सक्ने विभिन्न नेपाली संघ-संस्थाहरुले आशंका गरेका छन । कोरोना संक्रमणको विश्व तालिकामा तेस्रो स्थानमा रहेको भारतमा ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएका छन ।









































