काठमाडौं,7 अगस्त 2020
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ। पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको हो। उहाँले आर्थिक लेनदेनलाई प्रशय दिएकै कारण पशुपति क्षेत्र भित्र बाटोबाटोमा पसल राख्ने, पार्किङ जथाभावि गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रशय दिनेलाई कारबाही गर्ने बताउनुभएको हो। उहाँले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्कजाने काम नगर्न समेत आग्रह गर्नुभयो। उहाँले भन्नुभयो ‘यहाँ भित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथिहरुलाई पनि भन्न चाहन्छु। कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रशय दिने काम तपाईहरुबाट भएछ भने तपाईहरु माथि पनि म कारबाही गर्छु। मैले प्रस्ट ढंगले भनेको छु। किन भने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो। धर्म गर्न आउने हो।
त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावस्यक आर्थिक लेनदेन र चलखेलहरु भएभने त्यो नर्कको बाटो हुन्छ। यो स्वर्ग जाने बाटो हो। पशुपति भनेको ।’ उहाँले पशुपति क्षेत्र भित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिंडन अप्ठेरो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिंडेको र उक्त कदम सरकारलाई स्वीकार्य नहुने प्रस्ट पार्नुभयो। पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय मानिसहरु र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले बिना विकल्प बासस्थानबाट बेदखल नगर्ने स्पस्ट पार्नुभयो । तर कुनै राजनीतिक उद्देश्यले, गलत मनसायले र गलत आर्थिक लेनदेनको कारणले सांस्कृतिक सम्पदाहरुको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने बताउनुभयो। उहाँले भन्नुभयो ‘कुनै राजनीतिक उद्देश्यले, कुनै समुदायको गलत मनसायले, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनैपनि कारणले सांस्कृतिक सम्पदाहरुको र सांस्कृतिक सम्पदासँग जोडिएका ठाउँहरुको अनुचित ढंगले त्यसमाथि ज्यादती गर्न पाइदैन। त्यसमाथि थिचोमिचो गर्न पाइदैन।
त्यसमाथि अतिक्रमण गर्न पाइदैन। मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने समेत बताउनुभयो। उहाँले भन्नुभयो ‘पशुपति क्षेत्र भित्र पनि बिना मापदण्ड, बिना सोच, बिना योजना कुनै संरचनाहरु बनाइएका छन भने त्यस्ता संरचनाहरु पशुपतिको मापदण्ड अनुरुप नै ढालिनुपर्छ। तब मात्रै दुनियाका मानिसहरुको लागि एउटा गन्तव्य स्थानको रुपमा जीवित रहने छ। यसमाथि मानव जातिले अनावस्यक ढंगले अतिक्रमण गरेको छ पशुपति माथि भने त्यो अतिक्रमण गर्न पाइदैन त्यस्ता अतिक्रमणहरुलाई हटाइने छ। पशुपति कुनै धर्म सम्पदाय र कुनै समुदायको मात्र नभएको उल्लेख गर्दै पहिलो अधिकार नेपाल राष्ट्रको भएको र त्यसपछिको अधिकार पशुपति माथि आस्था विश्वास राख्ने विश्वभरका करोडौं मानिसहरुको भएको बताउनुभयो। राजनीतिक दाउपेचले नेपालका धार्मिक, सांस्कृतिक सम्पदाहरु लामो समयदेखि दोहन भएको र अहिलेको बलियो सरकारले त्यस्ता सम्पदाहरुको संरक्षण गर्ने बताउनुभयो। कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रको संरक्षण र विकासका लागि गुरुयोजना प्रस्ताव गरिएको बताउनुभयो।









































