नयाँ दिल्ली, 12 अगस्त 2020
संसारभरका हिन्दु धर्मावलम्बी र भगवान श्री कृष्णका भक्तहरुले आज जन्मदिवस मनाएका छन। भारतको दिल्लीमा पनि श्रीकृष्णा जन्माष्टमी पर्व बुधवार मनाईएको छ । नेपालमा मंगलबार श्रीकृष्ण जन्माष्टमी मनाईएपनि भारतमा भने बुधवार मात्रै श्रीकृष्ण जन्माष्टमी मनाईएको हो । भारतमा पनि अधिकांश नेपालीले बुधवार श्रीकृष्ण जन्माष्टमी मनाएका छन । कोरोना महामारीलाई ख्याल राख्दै मन्दिरहरुमा श्रीकृष्णको पूजार्चना गरिएको छ । शाहदरास्थित पशुपतिनाथ मन्दिरमा पनि भगवान श्रीकृष्णको पुजार्चना गरिएको पुजारी यदु शरद वशिष्ठले बताउनु भएको छ । उहाँले कोरोना महामारीका कारण न्यून संख्यामा दर्शनार्थीहरु मन्दिरमा आएको बताउनु भयो । त्यस्तै दिल्लीका अन्य मन्दिरहरुमा पनि कम संख्यामा दर्शनार्थीहरु दर्शनका लागि आएको बताइएको छ ।
यसदिन महिलाहरु व्रत बसी भगवान श्रीकृष्णको आराधना गरेका छन । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र कृष्ण अष्टमीको दिन भगवान श्री कृष्णको जन्म भएको थियो। त्यसैले यसदिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ। गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर लगायतका धेरै नामबाट पुकारिएका भगवान श्रीकृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि लिने गरिन्छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचारबाट मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास पनि गरिन्छ।









































