चेन्नई, 27 अगस्त
भारतमा पछिल्लो समय नेपालीहरुको आत्महत्या गर्ने क्रम बढ्दो छ । विशेषगरि तमीलनाडु राज्यको चेन्नईमा एकपछि अर्को गर्दै आत्महत्याका घटनाहरु बढिरहेका छन । यही क्रममा चेन्नईको किल्पाकस्थित विजय टावर फ्लैटमा कार्यरत एक नेपाली युवकले हिजो आत्महत्या गरेका छन । बाग्लुङ, जैमिनी नगरपालिका ८, छिस्ति बाङलिङ निवासी दल बहादुर नेपालीका २२ वर्षका छोरा राजेश नेपालीले आफ्नो कोठामै पंखामा पासो लगाएर आत्महत्या गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले जानकारी दिनुभएको छ ।
बस्यालका अनुसार मृतक राजेश नेपाली मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समिति अन्तर्गत किल्पाक एरियाका सदस्य पनि थिए । त्यसका साथै उनी राम्रो भलिवल खेलाडी पनि थिए । राजेशले फेसबुक मार्फत नेपालको धादिङ जिल्ला निवासी एक युवतीसँग प्रेम गरेको कुरा निजको फेसबुक च्याटिङ र भिडीयो कलबाट थाहा हुन आएको उनका दाजु कुमार नेपालीले बताउनु भएको छ। २५ अगस्त २०२० का दिन करिब ८ बजे बिहानबाट उनकी प्रेमीकासँग कुरा गरिरहेको प्रमाण उनको च्याटबाट जानकारी हुन आएको छ । उनले प्रेमीकासँग कुरा गर्ने क्रममा आत्महत्या गर्न लागेको प्रष्ट जानकारी गराएका रहेछन । उनले पासो लागाएर प्राण जाने बेलासम्मको भिडीयो प्रेमीकालाई पठाएको खुल्न आएको छ ।
चेन्नईमा करिव ६ महिना यता नेपालीले आत्महत्या गरेको यो ८ औं घटना हो । भने एक हप्ताभित्र भएको तेस्रो घटना हो। प्राय घटेका आत्महत्याहरु प्रेम प्रसङ्गकै कारण भएका छन ।
बुधवार सबै कानुनी प्रकृया मिलाएपछि नुङ्गाम-बाक्कम समशानघाटमा करिब ५ बजे दाहसंस्कार गरिएको छ। दाहासंस्कारमा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय समिति सदस्य ज्योतिनारायण सुबेदी, उमानन्द आचार्य, दयाराम खनाल, चेन्नई पश्चिम नगर सहसचिव यामकुमार नेपाली, दक्षिण नगर सदस्य टेक बहादुर नेपाली, दल बहादुर नेपाली (अड्यार), सुरेश थापा, दल बहादुर नेपाली (प्रेस), बुद्ध नेपाली, प्रेम नेपाली, रामकुमार नेपाली, पिता दल बहादुर नेपाली, दाजु कुमार नेपाली, लंक नेपाली, जीवन हितांक, चक्र नेपाली, लक्षुमन नेपाली, केशब नेपाली संगठनका कार्यकर्ताहरू र आफन्तजनहरुको उपस्थिति रहेको थियो ।
मूल प्रवाहले यस प्रकारका कायरता देखाएर आत्महत्या गर्नुको जीवनमा कुनै अर्थ नरहने भएकाले यस्तो गलत बाटो नरोज्न अपील गरेको छ ।









































