काठमाडौं, 31 अगस्त 2020
निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पुरा नभए आन्दोलन चर्काउने बताएका छन। अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले स्वास्थ्यकर्मी एवं कर्मचारीले राखेका माग पुरा नभए धर्ना र अनसनमा बस्ने बताएको हो। संघका अध्यक्ष सन्तोष धिमालले स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा सुविधा, बढुवा, विनियमावली संशोधन लगायतका विषयमा आफुहरुले राखेका माग पुरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताउनुभयो। सोमबार भएको प्रदर्शनमा अध्यक्ष धिमालले माग पुरा नभए धर्ना र अनसनका कार्यक्रम घोषणा गरिने बताउनुभएको हो । अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरुले १५ दिन देखि अस्पताल अगाडि कालो ब्यानर झुण्ड्याएर आफ्ना माग राखेका थिए भने आइतबारदेखि हातमा कालोपट्टी बाधेर काम गर्ने र दिनको १५ मिनेट अस्पताल अगाडि प्रदर्शन गर्ने कार्यक्रम गर्दै आएका छन। अध्यक्ष धिमालले विगत दुई वर्ष देखि नै अस्पतालको व्यवस्थापन समक्ष आफ्ना मागहरु राखेको तर अहिले सम्म समाधान नभएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।
अस्पतालकी नर्सिङ इन्चार्ज माया अधिकारीले अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीको सुझाव पनि नमान्ने र आफैलेपनि राम्रोसँग काम नगरेकाले समस्या बढेको बताउनुभयो । उहाँले वर्षौंदेखि विनियमावली नल्याउँदा स्वास्थ्य कर्मीलाई काम गर्न स्पष्ट गाइडलाइन नभएको पनि बताउनुभयो । स्वास्थ्यकर्मीको बढुवा नहुने, वृति- विकासका लागि अध्ययन र तालिममा सहभागि नगराउने, तल्लो तहमा बसेर माथिल्लो तहको कामको जिम्मेवारी लिनुपर्ने लगायतका समस्या रहेकाले आन्दोलन गर्नुपरेको अधिकारीले बताउनुभयो। निजामती कर्मचारी अस्पताल कर्मचारी संघले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि नेपाल रेडियोलोजिकल सोसाइटीले उनीहरुका मागप्रति एकवद्धता जनाएको छ। सोसाइटीका अध्यक्ष मुकेश झाले सोमबार अस्पताल पुगेर आफुहरुको पूर्ण साथ रहेको बताउनुभयो । उहाँले जायज माग पुरा गर्न तत्काल वार्ता गर्ने व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन र सरकारसँग आग्रह समेत गर्नुभयो। कोभिड-१९ को अवस्थामा जोखिम मोलेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सेवा सुविधा कम हुँदा मनोबल कमजोर हुने भएकाले तत्काल वार्ता मार्फत समस्या समाधान गर्नुपर्नेमा झाले जोड दिनुभयो। स्वास्थ्यकर्मीहरुले विरामीको उपचारमा कुनै असुविधा हुने गरी आन्दोलनका कार्यक्रम नगरिएको बताएका छन। आफ्ना माग पुरा गराउन दिउँसो खाजाको समयमा १५ मिनेट छुट्याएर प्रदर्शन गरिएको पनि स्वास्थ्यकर्मीहरुले बताए।









































