बिराटनगर, 5 डिसेम्बर 2020
भारत तर्फको सीमा खुला रहेपनि नेपाल तर्फको सीमा खुला नगरिएको विरोधमा शनिबार जोगबनी सीमानजिक बिराटनगरको रानीबजार मिल्स एरियामा धर्ना प्रदर्शन गरिएको छ । नेपाल भारत खुला सीमा संवाद समूहले खुला सीमा खुला गर भन्दै अनिश्चितकालीन धर्ना प्रदर्शन शुरु गरेको हो । कोरोना महामारीका कारण नेपाल भारत सीमा जोगबनी विगत 9 महीनादेखि बन्द रहेको छ। भारतको तर्फबाट जोगबनी सीमा खुला भएको भएपनि नेपालको सीमा बन्द रहँदा आवाजाही बन्द भएपछि रानी क्षेत्रमा व्यापार र आवश्यक्ताका सर-समानमा समस्या आएपछि प्रदर्शनमा उत्रिएको उनिहरुले बताएका छन ।
संवाद समूहका संयोजक राजीव झाले कोरोना कालमा बन्द रहेको सीमाका कारण नेपाल-भारतको रोटी बेटीको सम्बन्धमा असर परेको बताउनुभयो । उहाँले मुख्य आवत-जावत स्थललाई बन्द राखिए पनि छेउछाउबाट ट्रक, मान्छे, मोटरसाईकल गइरहेकाले यस्तो देखावटी बन्दलाई खोल्नुपर्ने बताउनुभयो । उहाँले नेपालले आफ्नै नागरिकलाई चोर बनाउने काम गरेको भनाइ राख्नुभयो । उहाँले वैश्विक महामारी कोरोनासँगै जिउनुपर्ने अवस्था रहेकोले यथाशीर्घ सीमा खोल्न आग्रह गर्नुभयो । उहाँले सीमा नखोलेसम्म धर्ना प्रदर्शन जारी रहने बताउनुभयो ।









































