काठमाण्डौ, 8 डिसेम्बर 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् । बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडका असन्तुष्टि देखिएको कुरा काँग्रेसले राखेको बताउनुभएको हो । प्रणाली र लोकतन्त्रको खराबी नभई सरकार सञ्चालन गर्नेहरुको खराबीले सडकमा असन्तुष्टि देखिएको पनि नेताहरुले बताएका छन् । उहाँले सरकार सच्चिएर लोकतान्त्रिप पद्धतिको मर्म अनुसार काम गरेमा कुनैपनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताउनुभयो ।
यस्तै सरकारले आफू भन्दा फरक विचार राख्नेहरुमाथि गरेको दमनकारी व्यवहारबाट आजित भएर पनि सडका असन्तुष्टि देखा परेको कुरा राखेको पनि सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई चलाएर लोकतान्त्रिक संविधानको मर्म विपरित काम गरेकाले पनि समस्या उत्पन्न भएको बताउनुभयो । तत्काल संसद बैठक बोलाउन माग गरिएको पनि नेता महतले बताउनुभयो । उहाँले भन्नुभयो ‘समग्र विषयलाई छलफल गर्ने थलो भनेको निर्वाचित जनप्रतिनिधिहरुको थलो संसद हो । संसदको तत्काल बैठक डाक्न पनि माग ग¥यौं ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले पनि आफ्नो कुरा स्पष्टसँग राखेको तर कुनैपनि नेताहरुबाट प्रतिक्रिया नआएको बताएका छन् । राप्रपा नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वदलीय बैठक राखेर दुईवटा विषयमा खासगरी राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने कुरामा त्यो प्रस्ताव गरेपछि त्यसमा कसैतिरबाट पनि जवाफ आएन ।’
नेता बोहराले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको पनि बताउनुभयो ।









































