कैलाली, 8 जनवरी 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा राम्रो मानिसलाई जिताएर पठाउन आग्रह गर्दै देश विकास गर्ने जिम्मा आफूले लिने बताउनुभएको छ । आउँदो वैशाखमा जसरी पनि चुनाव भएरै छाडने भन्दै निर्नाचनको तयारीमा लाग्न सम्पूर्णमा आग्रह गर्नुभयो । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ओली समूहको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक र कानुनी रूपमा प्रतिनिधि सभा पुनर्स्थापना सम्भव नरहेको भन्दै आउँदो वैशाख १७ र २७ गते चुनाव हुने विश्वास व्यक्त गर्नुभयो । तोकिएकै मितिमा चुनाव हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनको अभियानमा लाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।
उहाँले तीन करोड नेपालीमा दुई सय ६५ जना अलग हुँदा आफूलाई कुनै फरक नपर्ने पनि बताउनुभयो । उहाँले सुदूरपश्चिमबाट प्रचण्ड–माधव समूहलाई अबको चुनावमा १० सिटमात्र जितेर देखाउन पनि चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूको आलोचना गर्दै उनीहरूले झुक्याएर राजनीति गरिरहेको पनि आरोप लगाउनुभयो । पार्टी छाडेर हिँडेका भगौडाको कुरा नसुन्न पनि उहाँको आग्रह छ । उहाँले भ्रमको खेती गरेर कोही अघि बढ्न नसक्ने भन्दै नागरिक सचेत भइसकेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो । नयाँ नक्सा प्रकाशन भएपछि केहीलाई पिर परेको समेत भन्नुभयो । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पछाडी परेको भन्दै प्रदेशको विकासका लागि लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा विकास गरिरहेको, अत्तरिया–धनगढीबाटो चाँडै सम्पन्न भइरहेको, विमानस्थलको क्षमता वृद्धि गर्ने काम अघि बढिरहेको र गौरीफन्टा नाका विस्तार गर्न भारतसँग कुरा भइरहेको उहाँले बताउनुभयो ।









































