दिल्ली, 28 अगस्त 2021
पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले विश्वकप छनोट खेलका लागि क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा टोली घोषणा गरेका छन् । पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबभन्दा धेरै गोलको कीर्तिमान बनाउने मौका पाएका छन् । रोनाल्डो शुक्रबारमात्र इटालियन सिरी ‘ए’ क्लब युभेन्टस छाडेर म्यानचेस्टर युनाइटेड फर्किएका छन् । रोनाल्डोले युभेन्टसमा पछिल्लो समय अभ्यास नगरे पनि उनी पूर्ण रुपमा फिट भएको राष्ट्रिय टोलीमा उपलब्ध हुने पोर्चुगल प्रशिक्षक सान्तोसको विश्वास छ ।
‘‘राष्ट्रिय टोलीप्रति रोनाल्डोको लगावलाई कसैले पनि प्रश्न गर्न सक्दैनन् ।’’
सान्तोसले घोषणा गरेको टोलीमा अधिकांश खेलाडी युरोपियन च्याम्पियनसिप खेलेका छन् । रोनाल्डोले युरो–२०२० मा अन्तर्राष्ट्रिय गोलको संख्या १०९ गोल पुर्याएका छन् । जुन इरानका फरवार्ड अली दाईको कीर्तिमानसँग बराबरी हो । सान्तोसले तीन नयाँ खेलाडीलाई टोलीमा मौका दिएका छन् । उनले पोर्टोका मिडफिल्डर ओटाभियो, स्पोर्टिङ लिस्बनका रक्षक गोनकालो इनासिया र पोर्टोका गोलकिपर डिएगो कोष्टा छन् । पोर्चुगलले सेप्टेम्बरमा आयरल्यान्ड र अजरबैजनविरुद्ध खेल्नेछ।









































