काठमाडौं, 8 जनवरी 2022
वरिष्ठ पत्रकार खिलध्वज थापाको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिकीकरण गरिएको छ । शनिबार काठमाडौंमा उक्त पुस्तकको वरिष्ठ पत्रकार भैरव रिसालले विमोचन गर्नुभएको हो । पत्रकारिताको यात्रामा भोगेका घटना, गरिएको अनुभवलगायत विषयवस्तु समेटिएका उक्त पुस्तक सरल भाषामा प्रस्तुत गरिएको छ । पुस्तकमा पेरिसमा एकान्तबास, काश्मीरदेखि कन्याकुमारीसम्म, कारवाँ नियाल्दै लाङ्टाङ हिमालमा एक रात, घुमघाम राजारानीसँग, एक पत्रकारको आँखामा राजनीति, पुरानो ऐनामा आफूलाई नियाल्दालगायतका शीर्षकमा विविध विषयवस्तु समेटिएका छन् । कार्यक्रममा पुस्तकका सर्जक थापाले आफ्नो जीवनकाल र पत्रकारिता यात्रामा भोगेका विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले नेपाली वाङ्मयमा ‘एक पत्रकारको बकपत्र’ एउटा खदिलो सम्पत्तिका रुपमा थपिएको बताउनुभयो ।









































