काठमाडौं, 13 जनवरी 2023
अदालतले धरौटीमा छाड्न आदेश दिएका क्रिकेटर सन्दीप लामिछानेलाई क्याप्टेनमा पुनर्वहाली गर्न उनका वकिल सरोजकुमार घिमिरेले क्यानलाई सुझाव दिएका छन् । सन्दीप लामिछानेका वकिल सरोजकुमार घिमिरेले उनी थुनामुक्त भएपछि कप्तानको जिम्मेवारी दिनुपर्ने तर्क गरेका छन्। बलात्कार अभियोगमा थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज शर्तसहित धरौटीमा रिहा हुँदै छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । आदेश दिएपछि क्रिकेटर सन्दीप लामिछाने शक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा हुँदैछन्।
उनका वकिल वकिल सरोजकृष्ण घिमिरेले अदालतको आदेशसँगै अब नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई कप्तानको भूमिकामा फर्काउनुपर्ने बताएका छन् । अहिले नेपाली क्रिकेटको अवस्था खस्किरहेको बताउँदै क्यानले गम्भीरतापूर्वक लिएर कप्तानमा फर्काउनु पर्ने बताए ।
‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यकता नै छैन । अहिले नेपाली क्रिकेटमा डिभिजन नै घटुवा हुने अवस्था आइसकेको छ,’ उच्च अदालत परिसरमा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘क्यानले यदि गम्भीरतापूर्वक लिन्छ भने सन्दीपलाई कप्तानमा फर्काउनुपर्छ । थुनाबाट बाहिर निस्केपछि क्याप्टेनसिप त फिर्ता दिँदा हुन्छ ।’
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।
लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।









































