काठमाण्डौँ, 19 जनवरी 2020
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)-को सचिवालयले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।आईतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो। सचिवालय बैठकबाट सर्वसम्मत रुपमा सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो।
सभामुख चयनको विषयमा नेकपाभित्र लामो समयसम्म कुरा मिल्न सकेको थिएन्। प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न सकेको थिएन्। आइतबार बिहान ओली र दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएपछि साँझ सचिवालय बैठक बोलाइएको थियो।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाएसँगै सोमबारका लागि डाँकिएको प्रतिनिधिसभा बैठक सुचारु हुने भएको छ। यद्यपी उपसभामुख तुम्बाहाङफेले यसअघि सचिवालयले राजीनामा दिन दिएको निर्देशन अस्वीकार गर्दै आउनुभएको थियो।









































