बेङ्लुरु, 19 जनवरी 2020
भारतले अष्ट्रेलियाविरुद्ध तीन म्याचहरूको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको छ। आईतबार भएको तेस्रो तथा अन्तिम म्याचमा अष्ट्रेलियालाई 7 विकेटले पराजित गर्दै भारतले शृङ्खला 2-1 ले जितेको हो। बेङ्लुरुमा अष्ट्रेलियाले दिएको 287 रनको लक्ष्य भारतले 47.3 ओभरमा मात्र 3 विकेट गुमाएर भेट्टायो। भारतका लागि रोहित शर्माले सवार्धिक 119 रनको योगदान गरे। खेल जीवनको 29 औं एकदिवसीय शतक प्रहार गर्ने क्रममा उनले 128 बलमा 8 चौका 6 छक्का प्रहार गरे। यस्तै कप्तान विराट कोहलीले 89 रनको अर्धशतकीय पारी खेले। भारतका लागि श्रेएस आयरले अविजित 44 रन बनाए।
टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 286 रन बनाएको थियो। अष्ट्रेलियाका लागि स्मिथले शतकीय पारी खेले। 132 बल खेलेका उनले 14 चौका र 1 छक्काको मद्दतमा 131 रन बनाए। त्यस्तै मर्नुसले अर्धशतकीय पारी खेले। 64 बल खेलेका उनले 5 चौकाको मद्दतमा 54 रन बनाए।
यसपूर्व शृङ्खलाको दोस्रो म्याचमा भारतले अस्ट्रेलियालाई 36 रनले पराजित गरेको थियो भने, पहिलो म्याचमा 10 विकेटले पराजित भएको थियो।









































