काठमाडौं, 7 सितम्बर 2021
असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर आगामी पूर्ण रुपमा खुल्ने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विकास कोषका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै मन्दिर दर्शनका लागि खुला गर्ने निर्णय भएको छ । असोज १ गतेदेखि नै पशुपतिमा विशेष पूजा पनि सुरु हुने जनाइएको छ । दर्शनार्थीले तोकिएको रकम तिरेर विशेष पूजा गर्न पाउने छन् । पशुपतिनाथ मन्दिरमा अहिलेसम्म नियमित नित्य पूजा मात्रै हुँदै आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो ।पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो । असोज १ गतेदेखि भौतिक दूरी कायम गरि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गरिने कोषले जनाएको छ ।२०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । १० महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो ।









































