दिल्ली, 7 सितम्बर 2021
आज बुवाको मुख हेर्ने दिनमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुको मुख हेर्ने र बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने गर्दछन्। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गएर आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । कोरोना महामारीका कारण भीडभाडमा बन्देज गरिए पनि गोकर्ण पुगेका भक्तजनको बिहानै ठूलै भीड थियो । स्थानीय तहले मन्दिर पूर्ण रुपमा बन्द गरी भीड नगर्न आग्रह गरेको छ । तर वागमतीमा स्थान गरी तर्पण, पिण्डदान र सिदादान गर्नेहरु बाक्लै देखिए ।









































