काठमाण्डौँ, 9 अप्रेल
काठमाडौँको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वी राजमार्ग सडक खण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ। राजधानी काठमाडौँमा दैनिक हजारौँको संख्यामा लकडाउन उलङ्घन गर्नेहरु पक्राउ परिरहदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ। सडकमा कुनैपनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै मानिसहरु पनि हिंडडुल गरेको देखिदैन्।
सडकमा अत्यावस्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिदैनन्। एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ। त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन्। अत्यन्त व्यस्त रहने नौबिसे, धादिङ, मलेखु, लगायतका बजार सुनसान छन्। राजमार्गमा रहेका होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन्। यस्तै पसलहरु पनि बन्द छन्। सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाई गरेको छ। सामान्य अवस्थामा निकै व्यस्त रहने मनकामना केबलकार पनि बन्द छ। लकडाउन सुरु भए देखिनै केबलकार बन्द रहेको छ। निकै व्यस्त रहने मुग्लिङ बजार पनि पूर्ण रुपमा बन्द रहेको छ। मुग्लिनमा सञ्चालित कुनै पनि होटल पसल तथा विभिन्न सेवा कार्यालयहरु खुलेका छैनन्। राजमार्गमा ठाउँ-ठाउँमा अस्थाई स्वास्थ्य शिविर स्थापना गरिएको छ।
अत्यावश्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने कार्यलाई प्रहरीले कडाई गरेको छ। मुग्लिङदेखि पोखरा जाने सडक खण्ड पनि सुनसान छ। तनहुँको डुम्रेमा पनि लकडाउनको पूर्ण पालना भएको देखिन्छ। सबै पसलहरु पूर्ण रुपमा बन्द भएका छन्। यस्तै अत्यावश्यक वस्तुहरु विक्री हुने पसलअगाडि समाजिक दुरी कायम गर्न लगाइएका चिन्हहरु देख्न सकिन्छ।









































