धनगढी, 2 अप्रेल/ हिम शाह
‘कोरोना भाइरसको लक्षण छैन्। मेरो फेरि एक पटक परीक्षण गरियोस्’, कोभिड–19 परीक्षणमा पोजेटिभ आउँदा पनि उनी भन्दै थिए। उनी अर्थात् कोरोनाबाट संक्रमित भएका चौथो नेपाली नागरिक।
दुबईबाट भारत हुँदै नेपाल आएका धनगढीका 34 वर्षीय उनको आत्मविश्वासमा सुरुदेखि नै कमी थिएन। सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनको शुक्रबार रिपोर्ट पोजेटिभ आयो। त्यसपछि स्वास्थ्यकर्मीहरू पनि उनको नजिक जान डराए। तर, उनले भने हिम्मत हारेनन्।
आफुलाई बेवास्ता गरिएको र तातोपानीसम्म नदिएको खबर सञ्चारमाध्यमहरुलाई दिए। त्यसपछि चिकित्सक पनि केही गम्भीर देखिए। ‘मैले सुरु देखिनै हिम्मत हारिन्’ उनले भने, ‘अहिले पनि मलाई केही भएको छैन जस्तो लाग्छ।’
उनले टेलिफोनमा भने भने, ‘यो सामान्य रोग हो । यसले कमजोर व्यक्तिमा आक्रमण गर्छ । यो रोग लागेपछि खुशी हुनुपर्छ, हाँसिरहनुपर्छ । म त्यस्तै गर्छु ।’ उनकाअनुसार स्वास्थ्यमा सुधार भइरहेको छ। ‘हिजो अस्ति सामान्य पखादा लागेको थियो। डाक्टरका अनुसार यो निको हुने लक्षण हो रे’ उनले भने, ‘डाक्टरले भने अनुसार औषधि खाइरहेको छु। केही दिनमै ठिक हुन्छु भन्ने लागेको छ।’
उनको दोस्रो चरणको नमुना संकलन गर्न बाँकी नै छ। ‘नियमित परीक्षण भइरहेको छ। केही सुधार आएको पाइएको छ’ सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले बताउनुभयो।









































