काठमाण्डौ, 9 जुन 2020
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न गरिएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले मंगलबार संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभामा पेश गर्नुभएको थियो । उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सभामुख सापकोटाले उक्त प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनेपछि सर्वसम्मत स्वीकृत भएको घोषणा गर्नुभएको थियो । उक्त प्रस्ताव निर्णयाथ पेश गर्नुअघि संसमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन जनाएका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफल करिब चार घण्टा चलेको थियो ।









































