काठमाडौं, 1 फरवरी 2022
नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज अफ्रिकी राष्ट्र मरिससको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे नेपाल र मरिससबीचको खेल शुरु हुनेछ। नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मरिससमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो। विमल घर्ती मगरले नेपालको जितमा निर्णायक गोल गरेका थिए। खेलपछि मरिससका प्रशिक्षक मारिइ पास्कल टोनीले प्रतिकृया दिँदै आफ्ना महत्वपूर्ण चार खेलाडी नहुँदा कठिन भएको जनाएका थिए। मरिसस फुटबल एसोसिएसनका अनुसार नेपाल उत्रेपछि गरेको पीसीआर परीक्षणमा लोइक मिचेल, वाल्टर सेन्ट मार्टिन, हान्स पटाटे र केरल्सन एगाथेलाई कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। जसमध्ये पछिल्लो परीक्षणमा हान्स पटाटे र वाल्टर सेन्टमार्टिनको मात्र कोभिड रिपोर्ट नेगेटिभ आएको छ। र, थप टिमका मेडिकल स्टाफ पास्कल कोलिन र अब्दुल मदरबोक्कुस संक्रमित भएका छन्। त्यस्तै थप दुई खेलाडी सामुएल ब्रास र स्टेफेन नबाबलाई पनि कोभिड संक्रमण पुष्टि भएको मरिसस फुटबल फेडेरेसनले जनाएको छ। रंगशालामा एकतिहाइ दर्शकलाई कोभिड मापदण्ड पालना गर्दै प्रवेश अनुमति दिइएको छ। यद्यपि पहिलो खेलमा दर्शक दीर्घामा सामाजिक दुरी कायम भएको देखिएको थिएन। एन्फाको आलोचनासमेत भइरहेको छ। यता रंगशालामा दर्शकलाई भीआईपीतर्फ १ हजार र सामान्यतर्फ पाँच सय टिकट शुल्क तोकेर प्रवेश अनुमति दिइएको छ। मरिसससँगको दोस्रो खेललाई नेपालका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।
अलमुताइरीले घोषणा गरेको २३ सदस्यीय टिम : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, सुजल श्रेष्ठ, तेज तामाङ, नवीन गुरुङ, सुवास गुरुङ, अन्जन विष्ट, , सन्तोष तामाङ, आशिष लामा, विमल घर्तिमगर, मनिष डाँगी, सुमन अर्याल, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ









































