हैदराबाद, 6 अप्रेल
नेपाली जनसम्पर्क समिति दक्षिण-पश्चिम क्षेत्र भारतले लकडाउनका कारण समस्यामा परेका नेपालीहरूलाई खाद्यान्न वितरण गरेको छ। भारतको तेलेङ्गाना राज्यको हैदराबाद नजिक रहेको बिकट गाउँ मोइनाबादमा खानाको समस्या भएका नेपालको सुदूरपश्चिम प्रदेश अछाम जिल्ला कमल बजार नगरपालिकाका 15 जना नेपालीहरूलाई खाद्यान्न वितरण गरेको हो। उनिहरू मध्ये अधिकांश रोजगारीको लागि भर्खरै नेपालबाट आएका थिए भने केही चाईनिज बनडीमा काम गरिरहेका थिए। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि भारत सरकारले गरेको लकडाउनका कारण उनिहरू काम गर्ने होटल बन्द हुँदा उनिहरू समस्यामा परेका हुन्।

उनिहरू काम गर्ने होटल बन्द भएको र मालिकले दिएको खर्च र राशन पनि सकिएको भन्दै जानकारी पाएपछि नेपाली जनसम्पर्क समिति दक्षिण-पश्चिम क्षेत्रीय परिवारको सहयोगमा क्षेत्रीय महासचिव देवेन्द्र बोगटीको नेतृत्वमा उनिहरूलाई चामल, दाल, तेल र नुनलगायतको खाद्य सामग्री वितरण गरिएको हो। क्षेत्रीय महासचिव देवेन्द्र बोगटी आफै मोइनाबाद पुगेर उनिहरूलाई सहयोग गर्नुभएको हो।

नेपाली जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डेको निर्देशनमा संगठनका सम्पूर्ण जिम्मेवार सदस्यहरू खानापिनाको समस्या र अलपत्र परेका नेपालीहरूलाई सहयोग गरिरहेका छन्। स्वास्थ्यकर्मी, समाजसेवी र मिडियाकर्मी देवेन्द्र बहादुर बोगटी पनि समस्यामा परेका नेपालीहरूको सहयोगको लागि सक्रिय रहनुभएको छ।

साथै नेपाली जनसम्पर्क समिति दक्षिण-पश्चिम क्षेत्र भारतले विशेष आपतकालिन कोष स्थापना गरी खानापिना र बस्नेबासको समस्यामा परेकाहरूको भोको पेट भर्दै आएको छ भने बस्नको लागि छतको व्यवस्था गर्दै आएको छ।









































