नयाँ दिल्ली, 14 डिसेम्बर 2020
नेपाल काँग्रेसको सरकारविरुद्धको प्रदर्शन अन्तर्गत दिल्लीस्थित नेपाली राजदूतावासमा प्रदर्शन गर्ने पुगेका काँग्रेस समर्थकहरुलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ। नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति उत्तर भारतको आयोजनामा प्रदर्शन गर्न पुगेकाहरुलाई दिल्ली पुलिसले पक्राउ गरि मन्दिर मार्ग पुलिस थाना लगेको हो। दिल्लीमा किसान आन्दोलनका कारण धारा 144 लागू गरिएको भन्दै प्रदर्शन नगर्न चेतावनी दिँदै पुलिसले उनिहरुलाई हिरासतमा लिएको जनाएको छ। उनिहरुलाई पक्राउ गर्न अघि दिल्ली पुलिसले उनिहरुलाई दूतावास परिसरबाट तुरुन्त तितरबितर हुन आग्रह गरेको थियो। प्रदर्शनकारीहरुलाई पुलिसको गाडीमा राख्दै गर्दा पनि उनिहरुले नेपाल सरकारको विरोधमा नारावाजी गरिरहेका थिए । पक्राउ पर्नेमा प्रमोद खरेल, नागेन्द्र प्रसाद जोशी, एलपी पाण्डे, आरडी महतो लगायत रहेका छन ।
पक्राउपछि कुरा गर्दै नेपाली जनसम्पर्क समिति उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुँवरले देशमा कोभिड-19 महामारीबाट नागरिकले उपचार नपाइरहेका बेला सरकार भ्रष्टाचारमा डुबेको र सत्ताको पछि मात्रै दौडिरहेकाले आफुहरु भारतमा रहेर पनि सरकारको विरोध गरेको बताउनु भयो । उहाँले देशमा महिला राष्ट्रपति हुँदा पनि महिलाले न्याय नपाएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सरकारको विरोधमा देशभर प्रदर्शन गर्नुका साथै विभिन्न मुलूकमा रहेका पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समितिले पनि विरोध लगायत खबरदारी कार्यक्रम गरेको छ ।









































