काठमाण्डौ, 3 डिसेम्बर 2020
महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसक्दा महिला बालबालिकामाथि भइरहेको घटना बढेको बताउनुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले काम गर्न नसक्दा घटनाहरु बढेको बताउनुभएको हो । मन्त्री श्रेष्ठले अहिले भएका कानूनले नै आधारभूत रुपमा काम गर्न अप्ठेरो नहुने भएपनि स्थानीय तहको न्यायिक समितिले काम नै गर्न नसकेको गुनासो गर्नुभएको हो । स्थानीय तहमा भएका न्यायिक समितिमा रहने व्यक्तिमा कानून सम्बन्धी ज्ञान र सीप नहुँदा प्रभावकारी काम गर्न नसकेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले लैंङ्गिक हिंसा सम्बन्धी विषयलाई पाठ्यक्रममा राख्नुपर्ने बताउनुभयो । यस्तै विद्यालय स्तरमा नै महिला हिंसा सम्बन्धी विषयमा अन्तरक्रिया गर्न सके हिंसा हुने जोखिम कमगर्न सकिने पनि बताउनुभयो ।
नेपाल सरकारले प्रत्येक वर्ष डिसेम्बर १ देखि १६ तारिख सम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान चलाउँदै आएको छ । नेपाल संयुक्त राष्ट्र संघको महिला विरुद्ध हुने सबै प्रकारका हिंसा विरुद्धको अभिसन्धीको पक्ष राष्ट्र पनि हो । नेपाल सरकारले हालै मात्र तेजाब आक्रमण र यौनजन्य हिंसा अन्त्य गर्न अध्यादेश नै जारी गरेको छ ।









































