ललितपुर, 3 जनवरी 2022
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार ललितपुरमा बसेको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो । बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गर्नुभएको थियो भने केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो । अध्यक्षमा निर्वाचित भएपछि प्रचण्ड आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको बताउनुभयो । उहाले महाधिवेशनमा अपनाएको शैली र विधि पुरै जनवादी र लोकतान्त्रिक भएको दावी गर्नुभयो । उहाले केहि सञ्चारमाध्यमले महाधिवेशनको प्रक्रियामाथि अपमान गर्न खोजेको गुनासो गर्दै पार्टीको महाधिवेशनले क्रमभंग गरेको दावी गर्नुभयो । आफु अव पार्टी अध्यक्षबाट अलग हुनुपर्ने भन्ने लागेपनि मुलुकको आवश्यकताका लागि आफु पुन अध्यक्षमा बसेको उहाले बताउनुभयो । निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पदाधिकारी भने चयन गरेन । अध्यक्ष प्रचण्डले उपचारपछि बर्षमान पुन र ओनसरी घर्ति नेपाल आउने भएकाले उहाहरुलाई पनि समेटेर पदाधिकारी चयनका लागि २५ गतेका लागि बैठक सारिएको जानकारी दिनुभयो । त्यस्तै माओवादी नेता कृष्ण बहादुर महराले तयारी नपुगेका कारण गृहकार्य गर्न केहिदिन केन्द्रीय कमिटीको बैठक सारिएको जानकारी दिनुभयो ।समितिको पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने माओवादीले जनाएको छ । सोमबार नवनिर्वाचित केन्द्रीयहरुले पद तथा गोपनियताको सपथ पनि लिएका थिए ।









































