सोलुखुम्बु, 8 नवम्बर 2021
१३ दिनदेखि बेपत्ता ३ जना फ्रान्सेली नागरिकको खोजीका लागि गाइड लिनेभेको नेतृत्वमा आजदेखि १४ जना तालिम प्राप्त फ्रान्सेली टोली खटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । खुम्बु क्षेत्रको हिमाल आरोहणको क्रममा बेपत्ता भएका फ्रान्सेली नागरिकको खोजीमा तालिम प्राप्त फ्रान्सेली टोली खटिएको छ । प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार डाक्टर र आवश्यक साधनस्रोतसहितको विशेष तालिम प्राप्त टोली हिजो काठमाण्डौबाट हेलिकप्टरमार्फत खुम्बु आएको हो। फ्रान्स र नेपाली दूतावासको सहयोगमा उनीहरु फ्रान्सबाट नेपाल आएका प्रहरी निरीक्षक ढकालले बताउनुभयो । हिजो मौसम प्रतिकूल बनेकाले आजबाट खोजीमा सक्रिय भएको बताइएको छ । होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि मार्फत माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका तीन जना पुरुष नागरिक कार्तिक ९ गतेदेखि बेपत्ता भएका थिए । काठमाण्डौबाट गएको असोज १८ गते हिमाल आरोहणका लागि लुक्ला आएका ८ जना फ्रान्सेली नागरिकमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएका छन ।









































