नयाँ दिल्ली, 15 अगस्त
भारतले ब्रिटिश साम्राज्यबाट मुक्त भएको दिनको समझनामा आज ७४ औँ स्वतन्त्रता दिवस मनाएको छ । भारत आजकै दिन सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट मुक्त भएको थियो । यस अवसरमा भारतको राजधानी दिल्लीको लालकिल्लामा मुख्य समारोहको आयोजना हुने गर्दछ । यस वर्ष कोरोना महामारीका कारण लालकिल्लामा यो समारोहमा सामान्य रुपमा मनाइएको छ । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदी लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गर्नुभएको थियो ।
यस अवसरमा बोल्दै प्रधानमन्त्री मोदीले भारतले छिमेकी मुलुकहरुसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध राम्रो बनाएको बताउनुभयो । मोदीले दक्षिण एसियाली मुलुकका नेताहरुले यस क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति आएसँगै मानवताको हितमा कामहरु हुने पनि बताउनुभयो । उहाँले केही समयदेखि भारतले पश्चिम एशियासँगको सम्बन्धलाई अझ बलियो बनाएको र ती देशसँग भएका ऊर्जा क्षेत्रको साझेदारी महत्वपूर्ण रहेको बताउनुभयो । यसैबिच नेपालका प्रधानमन्त्री नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरि स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको छ । उहाँले भारत सरकार र देशका जनतालाई 74 औं स्वतन्त्रता दिवसको शुभकामना दिनुका साथै संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारत अस्थायी सदस्य चयन भएकोमा पनि शुभकामना दिएको बुझिएको छ ।
यसअघि उहाँले ट्वीटर मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना दिनु भएको थियो। जवाफमा मोदीले पनि शुभकामनाका लागि आभार प्रकट गर्नु भएको थियो ।









































