नयाँ दिल्ली, 15 अगस्त
नेपाल भारतको विवादका बिच शनिवार नेपाल-भारतका शीर्ष नेताहरुबिच संवाद भएको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबिच विवाद उत्पन्न भएकाबेला आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच करिब 10 मिनेट संवाद भएको जनाइएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरि स्वतन्त्रता दिवसको शुभकामना दिनुभएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार ओलीले आज मोदीलाई फोन गरि भारत सरकार र देशका जनतालाई शुभकामना दिनुभएको हो । ओलीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारत अस्थायी सदस्य चयन भएकोमा पनि शुभकामना दिएको जनाइएको छ । नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि पहिलो पटक उच्च स्तरमा नेपाल-भारतबिच कुराकानी भएको हो । आँउदो सोमबार नेपाल भारतबिच हुन लागेको वार्ताअघि दुवै देशका प्रमुखबिच भएको यस संवादलाई महत्वपूर्ण रुपमा हेरिएको छ । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेका बेला भारत चिढिएको थियो । यद्धपी दुवैदेशविच कुनै प्रकारको मतभेद भए वार्ताबाट समाधान गर्ने भारतले भनिरहेपनि वार्तामा ढिलाई गर्दा नेपाल सरकारले संविधानमा दोस्रो संशोधन गरि नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जानकारीका अनुसार आउँदो सोमवार नेपाल र भारतका प्रतिनिधीबिच काठमाण्डौमा वार्ता हुने तय भएको छ । वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास वैरागी र भारतका तर्फबाट नेपालका लागि विनय मोहन क्वात्राले सहभागिता जनाउनु हुनेछ ।









































