नयाँ दिल्ली, 3 अप्रेल
भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको छ। ती जुम्ल्याहा बालक र बालिका भारतमा जारी लकडाउनको समयमा जन्मिएका हुन्। उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन्।
ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा निकै कठिनाइ भएको बताइन्। “हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ।” उनले आफूलाई मार्च 26 तारिखका दिन ब्यथा लागेको बताएकी छन्। लकडाउनको अवधिमा अस्पताल आउन निकै सङ्घर्ष गर्नुपरेको उनले बताएकी छन्।
उनले मार्च 27 मा जुम्ल्याहा जन्माएकी थिइन्। “यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन्। त्यही भएर हामीले यी नाम छानेका हौँ।” उनले भनिन्।
अस्पतालका कर्मचारीहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन्। ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका थिए।

उक्त अस्पतालका जनसम्पर्क अधिकारीले आमा र सन्तान दुवैको अवस्था राम्रो रहेको जानकारी दिएका छन्।









































