नयाँ दिल्ली, 14 अप्रेल
भारतमा लकडाउनको अवधि 3 मे सम्ममा लागि बढाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान देशबासीका नाममा सम्बोधन गर्दै लडडाउन बढाउने निर्णय गर्नुभएको हो। यसअघि तीन साताका लागि घोषणा गरिएको लडकडाउनको अवधि बुधबारबाट सकिँदै थियो। उहाँले थप 19 दिनका लागि भारत भर लडकडाउनको घोषणा गरेका हो।
विश्वभर फैलिएको कोरोना महामारीलाई फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताउनुभयो। ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भन्नुभयो। आर्थिक दृष्टिबाट हेर्दा लकडाउन निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग यसलाई तुलना गर्न नसकिने मोदीले बताउनुभयो। भारतले कोरोना संक्रमण बढ्नुभन्दा पहिले नै शतर्कता अपनाएको प्रधानमन्त्री मोदीले बताउनुभयो।
विश्वका अन्य शक्तिशाली मुलुकको तुलनामा कोरोना महामारीविरुद्ध लड्न भारतले गरेको प्रयास राम्रो रहेको उहाँले दावी गर्नुभयो। ‘यो समय कुनै देशसँग तुलना गर्ने अवस्था होइन तर केही हप्ता पहिला भारतकै अवस्थामा रहेका मुलुकमा अहिले भारतको तुलनामा कोरोना संक्रमण 25/30 गुणा बढेको छ।’ मोदीले भन्नुभयो। विश्वका शक्तिशाली मुलुकमा दिनहुँ हजारौँको मृत्यु भएको घटनाप्रति भारत सरकार सचेत रहेको र भारतमा कसरी कमभन्दा कम क्षति मै सीमित गर्ने भन्नेमा सरकार लागेको मोदीले दावी गर्नुभयो। नागरिकहरुले लकडाउन बढाउन सुझाव दिइरहेको भन्दै उहाँले सरकारको घोषणामा साथ दिएकोमा प्रशंसा गर्नुभयो।
हालसम्म भारतमा करिब साँढे 10 हजार कोरोना संक्रमित रहेको पुष्टि भएको छ भने, 350 भन्दा धेरैको मृत्यु भएको छ।









































