भोपाल, 15 मई 2020
भारतको मध्य प्रदेश राज्यको भोपालमा रहेको श्री पशुपतिनाथ नेपाली समाज गोबिन्दपुराले लकडाउनका कारण अलपत्र परेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको छ । भोपालमा पहिलो चरणको लकडाउनमा खाशै समस्या नझेलेका नेपालीहरु दोस्रो चरणको लकडाउन शुरु भएपछि भोकै रहन बाध्य भएका थिए । त्यसपछि श्री पशुपतिनाथ नेपाली समाजले उनिहरुलाई खाद्यान्न वितरण शुरु गरेको समाजका महासचिव केबी खडकाले बताउनु भएको छ । उहाँका अनुसार अहिलेसम्म 325 घर परिवारलाई चामल, दाल, तेल, नूनसहितको खाद्यान्न वितरण गरिएको छ । भोपालमा सिजनमा काम गरेर नेपाल फर्किने मजदूरहरु लकडाउनका कारण समस्यामा परेका छन ।

लकडाउनका कारण गाडीहरु नचलेको र नेपालको सीमा पनि नखोलिएकाले उनिहरुलाई लकडाउन अवधिभर हर सम्भव सहयोग गर्ने श्री पशुपतिनाथ नेपाली समाजले अठोट लिएको खड्काले बताउनुभयो । उहाँले पहिलो चरणको लकडाउनमा समाजले आफ्नै कोषबाट राहत सामग्री वितरण गरेपनि अहिले समाजमा रहेका जागिर गर्ने नेपाली दाताहरुले पनि सहयोग गरिरहेको बताउनुभयो । भोपालको गोबिन्दपुरा क्षेत्रमा भव्य पशुपतिनाथ मन्दीर रहेको छ । सो मन्दीरका कारण पनि त्यहाँ रहेका नेपालीहरु एकतामा बाँधिएका छन ।









































