काठमाण्डौ, 2 सितम्बर 2021
नेपालमा पछिल्लो २४ घण्टामा थप २००४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी थप ७९३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५४१, ललितपुर १५२ र भक्तपुर जिल्लामा थप १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टामा देशका १ हजार ८४६ जना डिस्चार्ज भएका छन् । यस्तै, कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।









































