काठमाण्डौँ, 15 अप्रेल
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मृत्यु संस्कारमा सहभागि हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ। कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उलङघन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि सवारी पास नदिने बताएको हो। यस्तै बैशाख 3 गते बुधबार देखि नै यो व्यवस्था लागू भइसकेको समेत सूचनामा उल्लेख छ।
प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो। गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र यसले लकडाउनको उलङघन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागि हुन बाहेकका लागि पास वितरण नगर्ने निर्णय गरेको हो।









































