काठमाण्डौँ, 13 मई 2020
राष्ट्रियसभाको विशेष समयमा बोल्ने सांसदहरुले सीमा समस्या समाधान र कोरोना महामारी पछि आउने अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने बताएका छन्। बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसदहरुले भारतले मिचेको नेपाली भूमि फिर्ताका वार्ताको प्रकृया थाल्न सरकारलाई आग्रह गरेका छन्।

सांसद रमेशजंग रायमाझीले राष्ट्रियता र लोकतन्त्र अपहरणमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार गम्भिर नभएको बताउनुभयो। रोटी र बेटी सम्बन्ध भएको बताउने छिमेकी भारतले नेपालको राष्ट्रियता अपहरण गरेको उहाँको भनाई छ। भारतसँगको सीमा समस्या समाधानका लागि सम्पूर्ण राजनीतिक दलहरुले साथ दिँदा पनि सरकारले वार्ताको पहल समेत गर्न नसकेको उहाँले बताउनुभयो। रायमाझीले प्रधानमन्त्रीको कार्यशैलीले लोकतन्त्र अपहरणमा परेको बताउनुभयो।

सांसद भैरव सुन्दर श्रेष्ठले सुगौली सन्धी विपरित भारतले नेपालको सीमाना अतिक्रण गरिरहेको बताउनुभयो। परराष्ट्रमन्त्री र प्रधानमन्त्रीस्तरमा समस्या समाधानका लागि वार्ता गर्न पनि उहाँले सरकारलाई सुझाव दिनुभयो। प्रधानमन्त्रीस्तरको वार्ताबाट पनि समस्या समाधन नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उहाँको भनाई छ। नेपाल भारत प्रवुद्ध समूहलेबनाएको प्रतिवेदन सदन पेश गर्न माग गर्दै उहाँले एक आर्थिक वर्षको बजेट सीमानामा पर्खाल लगाउनका लागि छुट्याउन पनि आग्रह गर्नुभयो।
सांसद माया प्रसाद शर्माले कोरोना भाइरस र छिमेकी देशको भाइरसले नेपालमाथि आक्रमण गरिरहेको बताउनुभयो। विश्व कोरोनासँग लडिरहेका बेला भारतले कोरोनाको रुपमा नेपालमाथि आक्रमण गरिरहेको उहाँले बताउनुभयो। कोरोना नियन्त्रणका लागि देशभरी औषधि, दक्ष जनशक्ति लगायत अन्य स्वास्थ्य उपकरणको व्यवस्थागर्न तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद शेखर कुमार सिंहले नेपाल भारत सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गर्नुभयो। भारतबाट नेपाल भित्रिका नागरिकमा कोरोना संक्रमण देखिएको उल्लेख गर्दै उहाँले सरकारले यसको व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताउनुभयो।

सांसद खिमलाल भट्टराईले कोरोना संक्रमणबाट देशलाई जोगाउन भएका सरकारी प्रयासहरु सार्थक भएको उल्लेख गर्नुभयो। विभिन्न अस्पतालमा आइसोलेसन वार्ड आइसियुको व्यवस्था हुनु, रहेक पालिकामा क्वारेन्टाइन निर्माण गरिनु, देशव्यापी लक डाउन गरी राहतको व्यवस्थापन गर्नु सरकारका सकारात्मक प्रयास भएको उहाँले बताउनुभयो। सरकारले गरेका राम्रा कामहरुलाई पनि गरे भनेर जनतामा भ्रम छर्ने काम भएको उहाँले बताउनुभयो। ‘‘राज्यका सम्बन्धित निकायहरुले छानबिन गरिरहेका वाडवडी वा स्वास्थ्य सामग्री खरिद जस्ता विषयहरु उछालेर सरकारको भ्रष्टाचार विरुद्धको संकल्प र महाअभियानमाथि भ्रम छर्ने प्रयास भएको छ’’, उहाँले भन्नुभयो। भारत लगायत विभिन्न मुलुकबाट नागरिकहरु स्वदेश फर्केपछि बेरोजगारी समस्या उत्पन्न हुने उल्लेख गर्दै उहाँले यसको व्यवस्थापन तर्फ सरकारको ध्यान जानुपर्ने उहाँले बताउनुभयो। खुला नाकाबाट लुकेर नेपाल प्रवेश गरिरहेको अवस्थाले भोली भयावह स्थिति आउने भन्दै सीमा क्षेत्रमा अलपत्र नागरिकरुको उचित व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो।









































