काठमाण्डौ, 21 सेप्टेम्बर 2020
लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन । कोरोना महामारीका कारण जारी भएको लक डाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन। सरकारले गत चैत ११ गतेबाट देशभरी लक डाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो । ४ महिना लामो लक डाउन खुलेपनि आन्तरिक हवाई सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । असोज ५ गतेबाट हवाई सेवा सुरु भएसँगै पर्यटन व्यवसायले गति लिने विश्वास व्यवसायीहरुको छ । आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताउनुभयो । तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी एयरलाइन्सहरुले उडान प्याकेज घोषणा गरेको प्रति भने उहाँले आपत्ति जनाउनुभयो । त्यसले पर्यटन क्षत्रेलाई नभएर एक, दुई जना व्यवसायीलाई मात्रै फाइदा पुग्ने उहाँले बताउनुभयो ।
अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभएपनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताउनुभयो ।
कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना सँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो । पर्यटकिय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न सके २ वर्षभित्रमा लक डाउन अघिकै अवस्थामा पुग्न सकिने उहाँले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गते देखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ । बिमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने छ । नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोल र अत्यावश्यक सामान मात्र लैजान पाइने छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनि मध्ये ८ वटाले आजबाट सेवा सुरु गरेका छन् ।









































