काठमाडौं, 4 सेप्टेम्बर अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।
साकारका प्रवक्ता समेत रहेका डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि उनको राजीनामा आएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको सांसद बन्ने बाटो तत्कालका लागि बन्द भएको छ ।
प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर सांसद कै रुपमा ६ महिनासम्म मन्त्री बनेका हुन्।
गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भए पनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्रालय सम्हालेका थिए ।
भदौ २० मा खतिवडाको पद स्वतः सकिने भएपछि उनले शुक्रबार नै राजिनामा दिएका हुन् । संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।









































