20 अक्तूबर 2021
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगरमा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नु भएको छ। मोदी सरकारले सन् २०२० मा कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। केन्द्र र राज्य सरकारले कुशीनगर यात्रामा आउने विदेशी यात्रुहरुलाई लक्षित गर्दै यो विमानस्थल संचालनमा ल्याएका हुन्। नेपालसँग सीमा जोडिएको यस क्षेत्रमा गौतम बुद्धले निर्वाण प्राप्त गरेको मानिन्छ। गौतम बुद्धको जन्म भएको लुम्बिनीमा पनि अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ। नेपालले बौद्ध धर्मवालम्बीलाई समेत लक्षित गर्दै लुम्बिनीमा विमानस्थल निर्माण गरिरहेको हो। लुम्बिनीबाट भारतको कुशीनगर सडक मार्गबाट करिब १८० किलोमिटर टाढा पर्छ। बौद्ध धर्मवालम्बीलाई नेपालले लुम्बिनी भित्र्याउँदै त्यसलाई ‘बुद्धिष्ट हब’ बनाउन अन्तर्राष्ट्रि विमानस्थल निर्माण गरिरहेको समयमा नै भारतले पनि त्यसैको नजिकै अर्को अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याएको हो। त्यसैले पनि यस विमानस्थललाई मोदी सरकारको ‘रणनीतिक मुभ’ का रुपमा हेरिएको छ। धेरै संख्यामा बौद्ध धर्मवालम्बीहरु कुशीनगर क्षेत्रमा पुग्ने गर्छन्। विश्वभर छरिएका बौद्ध धर्मवालम्बीलाई लक्षित गर्दै कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल स्थापना गर्ने निर्णय मोदी सरकारले गरेका थिए।
नेपालबाट नजिक कुशीनगरलाई ‘बुद्धिष्ट हब’ का रुपमा विकास गर्न भारतले त्यहाँ अन्तराष्ट्रिय विमानस्थल बनाइएको हो। उत्तर प्रदेशकै आर्थिक अवस्थालाई उकास्ने लक्ष्य सहित करिब २६० करोड भारतीय रुपैयाँमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल आजबाट संचालन समेत भइसकेको छ।









































